जंगली च्याउले लमजुङमा तीन जनाको ज्यान लियो

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १५:०२ मा प्रकाशित

बेसीसहर, ६ जेठ – लमजुङमा जंगलको विषाक्त च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ ।

जंगली च्याउ खाएर बिरामी परेका तीनै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्री रहेका छन् ।

सुलबहादुरकी श्रीमती सरिताको काठमाण्डुस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । बैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।

उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाण्डुबाट घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भयो ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अधिकृत सुलोचन पन्तका अनुसार विषाक्त च्याउको विष रगतमा फैलिए मानिसको बाँच्ने सम्भावना कम हुन्छ । विषालु केमिकलले मिर्गौला निष्क्रिय बनाउँदा मृत्यु हुने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us