नुवाकोटमा बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान् घाइते

काठमाण्डु टुडे २०८२ असार १३ गते १४:५७ मा प्रकाशित

विदुर, १३ असार– नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक घाइते भएका छन । नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

बाढीमा परेर उनको श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनको उद्धार गरी उपचारका लागि काठमाण्डू पठाइएको छ ।

उनका अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ । ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्‍याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको छ ।

बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको डीएसपी लामाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us