विप्लवलाई माधव नेपालकाे चेतावनी: बन्दुकको भरमा त्रास नदेखाउ

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १२:४३ मा प्रकाशित

दाङ, ६ जेठ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन् ।

दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरे ।

उनले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिए ।पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे ।

राज्यले पनि नियन्त्रणमुखी दिशामा लाग्नु गलत भएको उनले सरकार तानाशाही बाटोमा जान नहुने बताए ।

वरिष्ठ नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगायत सबैलाई कारबाही हुनुपर्ने बताए । सरकारले सबै ठीक भएको छ भन्ने र प्रतिपक्षले सबै बेठिक भइरहेको छ भन्ने दुवै दृष्टिकोण आफूलाई चित्त नबुझेको उनले बताए ।

उनले पार्टीको पोलिट व्युरो गठनलगायत कार्यविभाजनको काम निकट भविष्यमा हुने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us