नागरिक उड्डयनलाई लेखा समितिले दियो यस्तो निर्देशन

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १६:३९ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारबाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथाशीघ्र बक्यौता उठाउने कारबाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरि समितिमा नियमित रुपमा प्रगति विवरण बुझाउन पनि निर्देशन दिइएको छ ।

बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारबाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिनाभित्र नयाँ बोलपत्र आह्वान गरी प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ ।

बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथाशीघ्र किनारा लगाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us