कुलमानको निर्देशनपछि सबस्टेशनको काम सुचारु

काठमाण्डु टुडे २०७६ जेठ ३ गते १७:२९ मा प्रकाशित

नुवाकोट, ३ जेठ – नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्री बी हब सबस्टेशनको निर्माणको काम सुचारु भएको छ । बिहीबार विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ निर्माणस्थलमा आक्रोशित मुद्रामा प्रस्तुत भएपछि रोकिएको काम सुचारु भएको छ ।

त्रिशूली बेसिनमा निर्माणाधीन आयोजनाको विजुलीका लागि निर्माण भइरहेको सबस्टेसन नजिकै ‘दिनमै मुलुकलाई करोडौं क्षति हुन्छ, त्यसको जिम्मा कसले लिने रु’ भन्दै कुलमानले काम रोक्ने केही स्थानीयसँग आक्रोश पोखेका थिए ।

बिहीबार घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । यो सबस्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फको भागमा भइरहेको छ । तर, त्यहाँ २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४का स्थानीयले अवरोध पुर्‍याएर काम रोकेका थिए ।

त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदै गर्दा अवरोध भएको थियो । आयोजनाले आफ्नो निर्माणस्थलतर्फ पर्खाल लगाउनुअघि नै रसुवातर्फको भागमा पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । स्थानीयको माग अनुसार नै खाल्डो खनिसकेपछि पनि १३ मिटर पछाडि सारेर पर्खाल निर्माण थालिएको थियो ।

निर्माण अगावै त्यहाँ सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फको स्थानीयले अहिले भने पटक(पटक विभिन्न माग तेस्र्याएर अवरोध पुर्‍याउँदै आएका छन् ।

बिहीबार घिसिङ पुग्नासाथै स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापामगरको नेतृत्वमा आएका केही रसुवाली स्थानीयले घिसिङलाई घेरा हालेका थिए। उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वरमा गर्जिएपछि कुलमान रिसाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us