
काठमाण्डु, ३ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी गर्न सुरू गरिएको बताएका छन् ।
२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।
‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ गृहमन्त्री थापाले भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्यमय ठानिँदै आएको छ ।