जुम्लामा बेरोजगार युवालाई ‘सेक्युरिटी गार्ड’ तालीम

काठमाण्डु टुडे २०७६ जेठ २ गते १६:२३ मा प्रकाशित

जुम्ला, २ जेठ – जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम शुरु गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालीम शुरु भएको हो ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ ।

चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागाईंले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालीमको आयोजना गरिएको बताए । सो तालीममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us