काठमाण्डु, १ जेठ – उद्योगमन्त्री मात्रिका यादवले मन्त्रालयमा भएको घटनाको विषयमा मुख खोलेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयमा दादागिरी नचल्ने चेतावनी दिए ।
आज दिउँसो उद्योग मन्त्रालयभित्रै कांग्रेस निकट कर्मचारीका नेताहरु पुगेर घुस खुवाएर कर्मचारी सरुवा गरेको आरोप लगाएका थिए । त्यसपछि मन्त्री यादवले प्रतिक्रिया सार्वजनिक गर्दै बिना प्रमाण घुस खाएको आरोप लगाए आफूलाई सह्य नहुने चतोवनी दिए ।
उनले भने, ‘उद्योग विभाग जान पाउनुपर्ने माग राख्दै बाहिरबाट आएका कर्मचारीहरूले घुस खाएको आरोप लगाए । त्यसपछि मैले कार्यकक्षबाट बाहिर निस्केर घुस खाएको भए प्रमाण ल्याउनुस् तर हल्ला नगर्नुस्, यहाँ आएर हल्ला गर्ने होइन भने ।’
उनले कर्मचारीको हकहितको लागि राजनीति गर्न पनि ती कर्मचारी नेतालाई चेतावनी दिए ।
सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहले मन्त्रीमाथि हात हाल्न खोजेका थिए ।
उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ । खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेको थियो ।
यसपछि दुबै पक्षबीच भनाभन सुरु भयो । मन्त्रीका निजी सचिव प्रेम आचार्यले घुस खाएर सरुवा गराएको भन्दै कर्मचारीहरुले होहल्ला गरेपछि मन्त्री यादवले नै होहल्ला गर्ने कर्मचारीको कठालो समाएका हुन् ।