काठमाण्डुको फोहर असारबाटै बञ्चरे डाँडामा फालिने

काठमाण्डु टुडे २०७६ जेठ १ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, १ जेठ – शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।

file photo

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार वर्षात्को समयमा काठमाडौँ उपत्यकामा बढी फोहर थुप्रने गर्दछ त्यसैले सबै फोहर विसर्जन गर्न नसके पनि असारबाट केही फोहर राख्न सकिने गरी निर्माणको काम भइरहेको छ ।

उनले भने, ‘पूर्णरूपमा काम सम्पन्न हुन तीन वर्ष लाग्छ, फोहर राख्ने स्थानको अभाव हुँदा ड्याम निर्माण गर्दै गर्ने र थोरै भए पनि फोहर पनि राख्ने काम गर्ने योजनामा मन्त्रालय रहेको छ ।’ औपचारिकरूपमा निर्माण गत १२ गतेबाट शुरु गरिएको हो । एक महिनाको बोलपत्र आह्वान गर्दा निर्माणको जिम्मा लुम्बिनी कोशी न्यौपाने जेभीले पाएको छ ।

अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम पनि गरिरहेको छ ।

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलाई निर्माणको जिम्मा दिनुअघि उक्त स्थल निर्माणको काम स्थानीय तहले गर्ने कि केन्द्र सरकारले भन्ने विषय अन्योल थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ ।

तेह्र वर्षदेखि सिसडोलमा काठमाण्डु उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाण्डु उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

यता कामपाले वर्षात्को समयका लागि सिसडोलकै आसपासमा अल्पकालीन फोहर विसर्जनस्थल तोकेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार वर्षा लागेसँगै फोहरको अनुपातमा वृद्धि हुने भएको र सिसडोलमा फोहर राख्न मिल्ने अवस्था नरहेकाले अन्यत्र स्थानको तय गर्नुपरेको हो ।

श्रेष्ठका अनुसार वर्षात्को समयका लागि हाल फोहर विसर्जन गर्ने स्थानभन्दा केही तल भिलेज वान र भिलेज टु मा तय गरिएको छ । तेह्र वर्ष अघि दुई वर्षका लागि भनेर काठमाण्डु उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको स्थान धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्दछ ।

दीर्घकालीन फोहर विसर्जनस्थल निर्माणको कामले गति लिएसँगै काठमाण्डु उपत्यकामा वर्षा लागेसँगै हुने फोहर थुप्रने समस्याबाट उपत्यकावासी मुक्त हुने कामपाको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us