आफैले पालेको गोरुले हान्दा झापामा एक जना ठहरै

काठमाण्डु टुडे २०७६ जेठ १ गते १०:१७ मा प्रकाशित

झापा, १ जेठ – आफ्नै घरमा पालेको गोरुले हान्दा झापाका मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।

file photo

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार घटना मंगलबार साँझाको हो ।

चरनमा पगाहा लगाइएको व्याडको गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अबेरसम्म नफर्किएपछि खोज्दै जाँदा आफन्तले श्रेष्ठलाई मृत्यु भइसकेको अवस्थामा फेला पारेका थिए ।

श्रेष्ठको शव परीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us