काठमाण्डुमा यौन व्यवसाय गर्नेमाथि नयाँ एसपीको ‘एक्सन’

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – काठमाण्डुका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप (यौनजन्य कार्य)मा संलग्न रहेको अभियोगमा महिला र पुरुष गरी १ सय ५१ जना पक्राउ परेका छन् । एकैदिनमा यति ठूलो संख्यामा पक्राउ परेको यो पहिलो घटना हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख फेरिनेबित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम गराउने अभियान थालेको हो ।

परिसरमा एसएपी उत्तमकुमार सुवेदीले प्रमुखको जिम्मेवारी सम्हालेको साता पनि भएको छैन । परिसरका अनुसार सोमबार मध्यराति निस्किएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिलासहित सय ५१ जनालाई पक्राउ गरेको हो ।

समाजमा विकृति फैलने गरी यौनजन्य क्रियाकलाप भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले काठमाण्डुको गोंगबु, रत्नपार्क, रणोदीप चोक लगायतका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us