भरतपुरमा कैदीले कारागार भरिभराउ, फराकिलो ठाउँको खोजी

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १०:२६ मा प्रकाशित

चितवन, ३१ वैशाख – भरतपुरस्थित जिल्ला कारागार रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । त्यसका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको हो ।

हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दीलाई राखिएको छ । बस्नेतले चाररपाँच बिघा जमीन खोजी भइरहेको बताए । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन छ ।

भरतपुर महानगरपालिकासँग समन्वय गरेर जग्गाको खोजीकार्य भइरहेको छ । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको छ ।

टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले शहरी क्षेत्रमा नै जग्गा खोजी भइरहेको बस्नेतले बताए ।

जग्गाको पहिचानपछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार छ । चालू आर्थिक वर्षमा जग्गाको पहिचान गरी आउँदो आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ ।

हाल कारागारमा धेरै गैँडासम्बन्धी मुद्दाका कैदीबन्दी छन् । अन्य जिल्लामा रहेका बिरामी कैदीबन्दीको रोजाइ पनि चितवन हुने हुँदा यो सङ्ख्या बढ्दो छ ।

यससँगै पूर्वी नवलपरासीमा जिल्ला अदालत भए पनि कारगार नभएकाले त्यसको दवाब यहाँको कारागारले थेग्नुपरेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए । यहाँको कारागारमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ ।

विसं २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ १५३ कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दी पठाउने गरिएको काफ्लेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us