
काठमाण्डु, ३० वैशाख – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले केही पत्रकारलाई ‘असनको साँढे’को संज्ञा दिएका छन् । उपप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकार सुशिल पाण्डे प्रति लक्षित गर्दै डा. भट्टराईले असन्तृष्टि जनाएका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी, उदण्ड, अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगोस् ।’
एभिन्यूज टेलिभिजनका लागि पत्रकार पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर हिँडेका थिए।
उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पत्रकारदेखि राजनीतिकर्मी र सामाजिक सञ्चाल प्रयोगकर्तासमेत उक्त अन्तर्वाताको विषयलाई लिएर अन्तर्वार्ताकार पाण्डे तथा मन्त्री यादवको पक्ष र विपक्षमा उभिएका छन् । साथै आज समाजवादी पार्टीका कार्यकर्ताले वीरगञ्जमा रहेकाे एभिन्युज टेलिभिजन कार्यालय तोडफोड गरेका छन् ।