
नुवाकोट, ३० वैशाख– छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो ।
त्यतिबेला उनले ४५ वर्ष टेकेकी थिइन् । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिइन् । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुगिन् ।
अहिले ११७ वर्ष टकेकी बाटुलीले शनिबार उनकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाइन् । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भनिन्, ‘आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए । त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।”
उनको पाँचौँ पुस्ता थानसिङमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस त्यहाँ पुग्छन् । गोरखापत्रबाट