
काठमाण्डु, २९ वैशाख– प्रेम सम्बन्ध सफल पार्न बुटवलमा एक महिलाले भिनाजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा भएको छ ।
भारत बिहार घर भई हाल बुटवल मैनावगर बस्दै आएका फिरोज खानको श्रीमती साहिन खातुनले भिनाजुसँगको सेटिङमा हत्या गरेकी हुन् । फिरोजको गत १२ चैतमा साहिनकी भिनाजु कादीर अन्सारीले गढीटोलस्थित घरमै गोली हानी हत्या गरेका थिए । साढुभाइको हत्या गर्न अन्सारी भारत बिहारबाट भातरीय नम्बर प्लेटको मोटरसाइकलमा बुटवल आएका थिए । गोली हानी हत्या गरेपछि उनी भागेर बिहार पुगेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनापछि तत्काल अस्पताल लगिएकामा चिकित्सकले फिरोजलाई तत्काल मृत घोषणा गरेका थिए । गाडीमा रङ भर्ने काममा पोख्त फिरोज स्थानीय ज्योति इन्जिनियरिङमा काम गर्थे ।
उनका रहिन र राहेश दुई छोरा छन् । घटनापछि प्रहरीले फिरोजकी श्रीमती साहीन खातुनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीसँगको बयानमा खातुनले आफू र भिनाजुबीचको प्रेम सम्बन्ध सफल पार्न श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन् । दिदीको मृत्युपछि आफू भिनाजुको प्रेममा परेको र प्रेम सफल पार्न श्रीमानको हत्या गरेको उनको भनाइ छ । हत्यापछि कल डिटेल अनुसन्धानबाट पनि खातुन र उनका भिनाजु अन्सारीबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । प्रदेश–५ का प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले फिरोजको हत्या श्रीमती र उनका भिनाजुको योजनामा भएको बताए ।