विश्वराज पोखरेल डीआईजीमा नियुक्त

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते १२:४० मा प्रकाशित

काठमाण्डु, २९ वैशाख – नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी प्रदान गरिएको छ । गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

संगठनमा पोखरेललाई व्यावसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छ । पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । यसअघि ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो ।

डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा एक पद रिक्त थियो । पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी महानिरीक्षकका रुपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us