तुथकलीले ७५ वर्षमा नागरिकता पाएपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते १०:२७ मा प्रकाशित

जुम्ला , २९ वैशाख – सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् ।

२००१ वैशाख ७ मा जन्मेकी बस्नेतले अहिलेसम्म नागरिकता बनाएकी थिइनन्। जिल्ला प्रशासन कार्यालय, जुम्लाद्वार सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले शनिबार नागरिकता बनाएकी हुन् ।

ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उनले बताइन् ।

त्यसैगरी गुठीचौर गाउँपालिका–२ की चाउली बोहोराले ५३ वर्षको उमेर नागरिकता पाउँदा खुशी हुँदै भनिन्, ‘यहाँको मान्छेको सरदर आयु ६० वर्ष हो, नागरिकताको प्रमाणपत्र नपाउँदै मर्छु कि भन्ने चिन्ता थियो, ५३ वर्षको उमेरमा आएर नागरिकता पाउँदा खुशी लागेको छ ।’

त्यसैगरी सुत्केरी भएको दुई महीना पनि नपुगेकी सोही गाउँपालिका–२ की दिलमाया गिरीले पनि नागरिकता पाइन् । शिविरमा २० देखि ७५ वर्ष उमेर समूहका ४१ महिला र ५१ पुरुषलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले यहाँका बासिन्दाले सो प्रमाणपत्रको अभावमा राज्यबाट उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित हुन नपरोस् भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको बताइन् । आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकीकृत घुम्ती सेवा सञ्चालन गरिने उनले जानकारी दिइन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us