गृहमन्त्री लेखकले गरे संयोजक शंकरदास वैरागीको प्रशंसा

काठमाण्डु टुडे २०८२ असार १० गते १४:२४ मा प्रकाशित

काठमाण्डू, १० असार– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक एवं पूर्वमुख्यसचिव शंकरदास वैरागीको प्रसंशा गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । यो निर्णयबारे आज (मंगलबार) बसेको प्रतिनिधि सभामा जानकारी गराउँदै गृहमन्त्री लेखकले वैरागीलाई राम्रो जानकार भएको व्यक्तिको रुपमा प्रसंशा गरेका हुन ।

गृहमन्त्री लेखकले भने, ‘परराष्ट्र मन्त्रालयको सचिवको रुपमा पनि राष्ट्रलाई सेवा प्रदान गरिसक्नुभएको र त्यसपछि नेपाल सरकारको मुख्यसचिवकै रुपमा काम गरिसक्नुभएको र यस क्षेत्रमा राम्रो जानकार रहनुभएका व्यक्ति, पूर्वमुख्य सचिव शंकरदार वैरागीजीको अध्यक्षतामा यो उच्चस्तरीय समिति गठन गरिएको छ ।’

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए । सरकारले छानबिन समिति मात्रै गठन गरेको छ । गठित समितिले आफ्नो सुझावसहितको प्रतिवेदन सरकारलाई दिन्छ । सरकारले त्यसलाई कार्यान्वयन गर्ने वा नगर्ने विवेक प्रयोग गर्न सक्छ ।

गृहमन्त्री लेखकका अनुसार भिजिट भिसा प्रकरणबारे छानबिन गठर्न गठित उच्च स्तरीय समितिको विभिन्न ९ वटा कार्यादेश दिइएको छ । जसअन्तर्गत रहेर समितिले तत्कालिन र दीर्घकालीन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ ।

नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us