निजी स्कुल बन्द हुने भएपछि सरकारीमा गाभियो

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते २१:२० मा प्रकाशित

डडेल्धुरा, २८ वैशाख–  गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ। गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् ।

गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ । सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरू हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले निजी विद्यालयमा विद्यार्थी सङ्ख्या भर्ना कम हुँदा समायोजन गर्नुपरेको निजी विद्यालय सञ्चालकले जनाएका छन् ।

गाउँपालिकाभित्रका अन्य निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालयमा भर्ना हुन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगेर समायोजन हुन थालेका गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

अन्य वडामा रहेका निजी विद्यालय र विद्यार्थी सङ्ख्या कम रहेका सामुदायिक विद्यालयलाई समेत समायोजनको प्रयास भइरहेको उनले बताए । जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयमा पनि विद्यार्थी सङ्ख्या कम हुँदा पनि समायोजन हुन नसक्दा गन्यापधुराले गरेको समायोजनको पहल कदरयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । गाउँपालिकाले समायोजना भएका विद्यालयलाई यही वैशाख ३० गते एक कार्यक्रमको आयोजना गरी स्वागत र सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत करुणाकर पन्तले बताए ।

समायोजन भएका विद्यालयमा बालविकास केन्द्र भने यथावत् रहने र आवश्यक परेका समुदायमा वालबिकास केन्द्र थपिने गन्यापधुराका शिक्षा इकाइ प्रमुख प्रेमसिंह ऐरले जानकारी दिए। शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ। विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापनमा सुधार गरिने अध्यक्ष मल्लले बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us