
काठमाण्डु, २६ वैशाख – एसएसपी विश्वराज पोखरेल डीआइजीमा बढुवा भएपछि अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले असन्तुष्टि देखाएका छन् ।
अन्य असन्तुष्ट एसएसपीहरुले राजनीतिका पहुँचका आधारमा कनिष्टलाई डीआइजीमा बढुवा गरेको भन्दै असन्तुष्टी जनाएका हुन् ।
०४६ माघ २९ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले नेपाल प्रहरीमा इन्स्पेक्टर पदबाट भर्ना भएर सेवा प्रारम्भ गरेको थियो ।
खनालभन्दा पछि ०४९ बैशाख १९ गते भर्ना भएका केही अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् भने केहीचाहिँ अझैसम्म एसएसपी नै छन् । तर, ती सिनियर एसएसपीहरुभन्दा ११ महिनापछि भर्ना भएका पोखरेललाई डीआईजी बनाइएको असन्तुष्टहरुको तर्क छ ।
२०४९ वैशाख १९ मा भर्ना भएको टोलीबाट अहिले शैलेस थापा क्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पाल र प्रद्युम्नकुमार कार्कीसहितका अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् ।
तर, ०४९ मै भर्ना भएको यही टोलीका गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, रामकृपाल साह, प्रकाश अधिकारी, शेखर कोइराला, वीरेन्द्रकुमार बस्यालसहित झण्डै एक दर्जन अधिकृतहरु अहिले पनि एसएसपी पदमै कार्यरत छन् ।
डीआईजी सिफारिस भएका पोखरेल ०४९ चैत ११ मा इन्स्पेक्टर पदमा नियुक्त भएका हुन् । उनीसँगै उत्तमराज सुवेदी, अरुणकुमार बीसी, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, दिवेश लोहनीलगायतका प्रहरी अधिकारीहरु पोखरेल भर्ना भएकै मितिमा इन्स्पेक्टर पदमा भर्ना भएका हुन् ।
तर, ११ महिनाअघि भर्ना भएकाहरुलाई एसएसपीमै खुम्च्याएर कनिष्ट मध्येबाट पोखरेललाई डीआइजीमा बढुवा गरिएको गुनासो एसएसपीहरु माझ चल्न थालेको छ ।
एउटै ब्याचका इन्स्पेक्टरहरुलाई डीएसपीमा र डीएसपीबाट एसपीमा बढुवा गर्दा विश्वराज पहिलो नम्बर वरीयतामा थिएनन् । तर, एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पाँचौं वरीयताका पोखरेललाई एक नम्बरमा पारिएको थियो ।
राजनीतिक नेतृत्वले आफ्नो स्वार्थमा सुरक्षा निकायको वरीयता बिगार्ने क्रमलाई संगठन प्रमुखका हैसियतले आईजीपीले रोक्नुपर्नेमा उनले त्यसो नगरेको भन्दै संगठनभित्र आईजीपी सर्वेन्द्र खनालसमेत आलोचित बनेका छन् ।