प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते ११:५५ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा प्रस्थान गरेका छन् । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतले बिदाइ गरेका हुन् ।

जेठ १ गतेसम्म हुने औपचारिक भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक योगदान पुग्ने विश्वास लिने बताइएको छ ।

सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us