भनसुनका आधारमा न्याय दिने संस्कार फेर्नुपर्छः मन्त्री जम्मकट्टेल

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते ११:४४ मा प्रकाशित

हेटौंडा, २६ वैशाख – प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राजनीतिक घटनाक्रम अनुसार कानून परिवर्तन नहुँदा जनताको न्यायालयप्रति विश्वास घटेको बताएका छन् ।
प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार कानून दिवसमा गरेको कार्यक्रममा बोल्दै समयक्रमअनुसार कानून निर्माण गर्ने व्यक्ति र कार्यान्वयन गर्ने निकाय पनि परिवर्तन हुनुपर्ने बताए ।

‘भनसुनको आधारमा न्याय दिने, पहुँच नभएकाहरुलाई हेप्ने संस्कार फेर्नु पर्छ,’ उनले भने ।

त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्याय दिने क्रममा बिभिन्न समयमा संस्थाको गरिमा नै संकटमा पर्ने गरी हुने फैसलाप्रति सचेत रहनुपर्ने बताएका छन् अदालतको गरिमामाथि आँच आउने गरी विगतमा भएका फैसलाबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले भने, ‘न्यायमूर्तिले अनुहार हेरर होइन, निर्मम ढंगबाट फैसला गर्नुपर्छ, मेरो र तेरोभन्दा पनि सही के हो त्यो आधारमा काम गर्न सकिएमात्र गरिमा बढ्छ ।’

उनले न्यायालयमा सबैको समान पहुँच भए मात्रै न्याय हुनेमा जोड दिए । उनले प्रदेशमा कानून निर्माणको काम भैरहेको भन्दै सरकारको गति बढाउनका लागि आवश्यक कानून निर्माण छिटो गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us