सुर्खेतमा मजदूरलाई दिसा कोच्याइयो

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते ११:०५ मा प्रकाशित

सुर्खेत, २६ वैशाख – सुर्खेतको बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ ।

एक मजदूरलाई अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई बुधबार पक्राउ गरेको हो ।

२४ वैशाखमा करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार दङ्गालीले सोही गाउँपालिका–७ बर्राचौरस्थित कल्याण काँधदेखि नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरेको अवस्थामा खत्रीलाई दिसा मुखमा कोच्याएकी थिइन् । उनलाई तत्काल इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिएको थियो ।

दङ्गालीलाई मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us