
सिन्धुपाल्चोक, २६ वैशाख – सिन्धुपाल्चोकको चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकका खेतबारीको माटोको परीक्षण शुरु गरेको छ ।
गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो ।
माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराइने गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले जानकारी दिए ।
नमूनाका रुपमा सबै वडाबाट १५० कृषकको बारीको माटो परीक्षण गरिने अध्यक्ष गौतमले बताए ।
‘व्यावसायिकरूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्नेछ, त्यसमा हामी पनि सहयोग गर्नेछौँ,’ अध्यक्ष गौतमले भने। माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमूनाका रूपमा माटो परीक्षण शिविर सञ्चालन गरेको हो ।
यसअघि भुम्लु गाउँपालिकाले पनि आफ्नो क्षेत्रका कृषकको खेतबारीको माटोको परीक्षण गरेको थियो । भुम्लुले जिल्लामै पहिलोपटक एक हप्ताको अवधिमा आफ्नो १० वडाका कृषकको माटो परीक्षण गरेको थियो ।
माटो परीक्षणको प्राप्त रिपोर्टअनुसार मौसमअनुसार व्यावसायिक खेतीका लागि कृषकसँग छलफल भइरहेको भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए ।
किसानलाई कृषि पेशाबाटै आत्मनिर्भर बन्न हौसला प्रदान गर्ने उद्देश्यले हाल गाउँपालिका–१ रिठ्ठेका कृषकलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सहयोगमा उन्नत जातको गहुँको बीउ वितरण गरिएको छ ।