प्रधानमन्त्री ६ दिनका लागि भियतनाम र कम्बोडिया जाँदै, यस्तो छ कार्यतालिका

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १०:१० मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) भियतनाम र कम्बोडिया भ्रमणमा जाँदैछन् ।
११ः३० बजे नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जान लागेका हुन् । ओली चारदिन भियतनाम र तीन दिन कम्बोडियामा रहनेछन् ।

दुई देशको भ्रमण सकेर प्रधानमन्त्री ओली १ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

साउथ चाइना सी तटीय मुलुक भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा ओली औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले २९ वैशाखमा भियतनाममा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भियतनामको हनोइबाट प्रधानमन्त्री ओलीको भ्रमण दल ३० वैशाखमा कम्बोडियाको न्होमपेन जाने कार्यक्रम छ । प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली कम्बोडिया जान लागेका हुन् ।

भियतनाम महायान् बौद्धधर्मका अनुयायीहरुको तथा कम्बोडिया थेरवाद बुद्धधर्मका अनुयायीको बाहुल्य भएका मुलुक हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सहभागी हुनेछन् ।

सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा. दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत, परराष्ट्रका सहसचिव तापस अधिकारी, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल लगायत पनि भ्रमण टोलीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us