
काठमाण्डु, २४ बैशाख – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गोरखापत्र संस्थानको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री बाँस्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनीसमेत दिए ।
गोरखापत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सारे ।
उनले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए ।
गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताए ।
गोरखापत्र संस्थानको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउनेदेखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढ्ने मन्त्री बास्कोटाको भनाइ छ । मन्त्री बास्कोटाले गोरखापत्रलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए ।