भारतमा पाँचौं चरणको मतदान हुँदै, राहुल र सोनियालाई भाजपाको टक्कर

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ११:४५ मा प्रकाशित

नयाँ दिल्ली, २३ वैशाख – भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ ।

पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ ।

जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ ।

यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ ।

यस चरणमा कूल ६ सय ७४ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन् ।

पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ । यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कडा टक्कर दिने अपेक्षा गरिएको छ ।

तर उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुबै स्थानमा कङ्ग्रेस नै विजयी हुने अडकलबाजी गरिएका छन् ।

पाँचौं चरणको मतदान सकिएसँगै लोकसभाका कूल ५४२ मध्ये ४२४ स्थानका लागि चुनाव समाप्त हुनेछ । बाँकी ११८ स्थानका लागि आगामी मे १२ र १९ मा छैटौं र सातौं चरणमा मतदान हुनेछ। चुनावको मतगणना आगामी मे २३ मा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us