विद्या भण्डारीद्वारा एमाले राजनीतिमा फर्किएको घोषणा

काठमाण्डु टुडे २०८२ असार १४ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले राजनीतिमा फर्किएको घोषणा गरेकी छन् ।

पति एवं तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४औं जन्मदिनका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएलगत्तै पार्टी सदस्यता नवीकरण गरेको बताइन् । राष्ट्रपति बन्नुअघि उनी एमाले उपाध्यक्ष थिइन् ।

भण्डारीले अब एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताइन् ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको दाबी भण्डारीले गरिन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो, ‘जनता भनेका भगवान हुन् ।’ साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गरेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us