
एजेन्सी – गएको शुक्रबार अष्ट्रेलियाको पर्थमा अचम्मको घटना भयो । पर्थको बाहिरी भागमा पर्ने एक स्थानमा एउटा रूखबाट निरन्तर पानी तप्किन थाल्यो । युकालिप्टस अर्थात् मसलाको रूखबाट यसरी पानी तप्किँदा धेरैले यसलाई रूख रोएको ठाने ।
यसलाई ईश्वरको चमत्कार ठानी रूखको फेदमा सयौँले प्रार्थना गरे । ‘रोइरहेको’ रूखलाई ‘यौवनको झरना’ समेत ठानियो । पाश्चात्य साहित्यमा यौवनको झरना भन्ने मिथक प्रचलित छ । यौवनको झरनामा नुहाएपछि व्यक्तिले पुनः जवानी प्राप्त गर्छ भन्ने किंवदन्ती छ ।
गत शुक्रबार, शनिबार र आइतबारसम्म त्यो रूखबाट पानी तप्किरहेपछि यो चमत्कारभन्दा पनि अर्थोकै केही थियो कि भन्ने संशय गर्न थालियो ।
धार्मिक प्रवृत्तिका केही मान्छेले त रूखको ‘आँशु’मा नुहाए पनि । तर, पश्चिम अस्ट्रेलियाको खानेपानी विभागले अनुसन्धान गरेपछि भने रहस्य खुल्यो ।
विभागका कर्मचारीले मसलाको रूखको जरामा खानेपानीको पाइप फुटेर रूखबाट पानी तप्किरहेको पत्ता लगाए । रूखको खोक्रो काण्डमा पानी भरिएको थियो । यसरी रूख रुन पुगेको थियो । तर, चमत्कारमा छिट्टै विश्वास गर्ने मान्छेका लागि यो घटना ईश्वरकै देन थियो ।