
काठमाण्डु, २२ वैशाख – ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा बच्चा छोडेर हिँडेको र होहल्ला गरेको भन्दै पूर्वसांसद गायत्री शाह पक्राउ पारेकी छन् । अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्व सांसद साहलाई प्रहरीले पक्राउ गरेको हो ।
लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी थिइन् ।
आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई प्रहरीले पक्राउ गरेको ललितपुर प्रहरी परिसरका एसएसपी रविन्द्र सिंह धानुकले बताए ।
पक्राउ पर्नुअघि साहले मेडिसिटी अस्पतालविरूद्ध उसकै परिसरमा प्रदर्शन गरेकी थिइन् ।
पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै आएकी छन्। उनको छोरा अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन् ।
साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन् ।
उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन् । अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ ।