राहुल र मोदीको जुहारीः मोदीले भने, ‘तिम्रा बुबा एक नम्बर भ्रष्टाचारी’

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १२:५५ मा प्रकाशित

एजेन्सी – भारतमा लोकसभा चुनाव जारी रहँदा प्रमुख दलका नेताहरुबीचको आरोप प्रत्यारोप उत्कर्षमा पुगेको छ । उनीहरु तल्लो स्तरमा ओर्लेर आरोप प्रत्यारोप गरिरहेका छन् ।

कांग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चोर र भ्रष्टाचारीको आरोप लगाउँदै आएका छन् । कांग्रेस आईले ‘चौकिदार चोर है’ लाई चुनावी नाराकै रुपमा प्रयोग गरेको छ । अहिले मोदीले राहुललाई कडा जवाफ फर्काएका छन् । शनिबार उत्तरप्रदेशमा आयोजित एक सभामा उनले राहुलका बुबा राजीव गान्धी एक नम्बरको भ्रष्टाचारी भएको बताए ।

राहुलले ‘राफेल डिल’ मा मोदीले भ्रष्टाचार गरेको आरोप लगाइरहँदा मोदीबाट यस्तो प्रत्यारोप आएको हो ।

मोदीले भने, ‘तिम्रो बुबालाई आसेपासेहरुले मिस्टर क्लीनको उपमा दिएका थिए । तर, खासमा उनी भ्रष्टाचारी नम्बर ! थिए ।’

उनले आफूलाई बदनाम गरेर प्रतिपक्षी दलहरुले देशमा अस्थिर र कमजोर सरकार बनाउन खोजेको आरोप लगाए ।

राहुलको थप आलोचना गर्दै मोदीले भने, ‘तपाई जस्तो म सुनको चम्चाले खाएर हुर्किएको होइन । न त म कुनै शाही परिवारको सदस्य नै हुँ ।’ आफूले ५० वर्षको तपस्याबाट आर्जन गरेको छवि सजिलै धुमिल नहुने मोदीको दावी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us