गोपनियताको सपथ गराउने प्रचलन हटाऊ: राष्ट्रिय सूचना आयोग

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ । आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिइँदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएका हुन् ।

आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाण्डुमा आयोजित प्रभातफेरी कार्यक्रममा उनले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा आपत्ति पनि जनाए । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरे ।

आयोगले आम नागरिकलाई आफ्नो र सार्वजनिक महत्वको विषयमा सूचना लिने संवैधानिक हक भरपुर उपयोग गर्न आह्वान गर्दै प्रभातफेरी निकालेको हो ।

सूचनाको हकलाई प्रत्याभूति गराउन २०६५ साल बैशाख २२ गते अर्थात् आजकै दिन राष्ट्रिय सूचना आयोगको गठन भएको थियो । आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ ।

प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताए । विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us