
काठमाण्डु, २२ वैशाख – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले गणतन्त्र जोगाउनेमा शंका उत्पन्न भएको बताएका छन् ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर टिप्पणी गरेपछि प्रतिपक्षी कांग्रेसले सरकारमाथि असन्तुष्टि व्यक्त गरेको हो ।
सांसद रिजालले विगतमा श्री ५ को सरकार भए जस्तै गरी सम्बोधन गरिएको र बेलायती साम्राज्य फैलिएका ‘कमनवेल्थ’ राष्ट्रको उदाहरण दिएकोमा आपत्ति जनाए ।
‘२०६४ पछि गणतन्त्र लेखेपछि त्यतिबेलादेखि मेरो सरकारको चलन गयो’, रिजालले भने, ‘राष्ट्रपतिले अघिल्लो वर्ष पनि यस सरकार भन्ने गर्नु भएको थियो । भाषागत कुरा मात्र होइन । शैलीको कुरा मात्र होइन । प्रधानमन्त्रीज्यू राष्ट्रपतिलाई सम्मानित संस्थालाई आम नागरिकको आलोचनाको पात्र नबनाउनुहोस् । गणतन्त्रप्रतिको जनताको विश्वासलाई किल्चेर हिँड्ने काम नगर्नुस् ।’
उनले घण्टौं ट्राफिक जाममा पर्खने जनता, बिसौं तीसौं मिनेट हवाइ बाटोमा पर्खनुपर्ने जनतामा गणतन्त्रप्रति निराशा बढेको उल्लेख गरे ।
‘हेरक दिन यो महललाई यसो बनाइन्छ भन्ने सुनेका जनता, टिका बक्सँदा पनि उभिने र बसेर टिका थाप्ने शैलीले जनताको मनमा आशंका छ – गणतन्त्र जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्न भएको छ ।’