काठमाण्डु, २२ वैशाख – काठमाण्डु क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले आफूले राजीनामा नदिने बताएका छन् ।
प्रगतिशील नागरिक मञ्चले आइतबार बालाजु–बाइपास सडक खण्डको निर्माणको क्रममा देखिएको अवरोधबारे गरेको सार्वजनिक सुनुवाइका क्रममा मानन्धरले यस्तो बताएका हुन् । उनले भने, ‘६ महिना अघि राजीनामा दिन्छु भन्दा जनताको मतको अपमान गर्यो भन्ने । अहिले काम गरेन भनेर राजीनामा माग्ने । म राजीनामा दिन्नँ ।’
गत असोजमा नेकपा नेता वामदेव गौतमका लागि रामवीरले आफ्नो निर्वाचन क्षेत्रबाट राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि मानन्धरविरुद्ध स्थानीय र रैथाने नेवार समुदाय आक्रोशित भएका थिए ।
बालाजु चोकदेखि बाइपाससम्मको सडक विस्तार गर्ने क्रममा स्थानीयहरुले विरोध गरेका थिए । यद्यपि, बाटो विस्तार गरिएको थियो ।
सडक विस्तारका लागि ५ वर्षअघि नै सडकका दायाँबायाँ बनेका घरहरु भत्काइएपनि सडक निर्माण कार्य अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
ल्हुती पुन्ही (बाइस धारा मेला)का लागि करिब १४ महिना अघि बालाजुदेखि बाइस धारा पाटीभन्दा केही माथिसम्म मात्रै पिच गरिएको थियो । तर त्यहाँभन्दा माथि बाटो पिच नहुँदा स्थानीयहरुले समस्या भोग्दै आएका छन् ।
लालपूर्जा र मुआब्जा विवादका कारण उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन । स्थानीयहरुले आफूहरु पहिलादेखि त्यही बस्दै आएको र बस्ती नै सखाप पार्न गरी हुने सडक विस्तार आफूहरुलाई मान्य नहुने भन्दै बाइसधाराको जग्गामा भए पनि बस्ती स्थानान्तरण गर्न माग गरेका थिए ।