
धनगढी, २२ बैशाख – धावन मार्गको स्तरोन्नतिका लागि आइतबारदेखि जेठ २१ गतेसम्म धनगढी विमानस्थल एक महिनाका लागि बन्द भएको छ । जानकारी दिए ।
त्रिभुवन विमानस्थल पछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तार गरिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए । मर्मत कार्य आइतबार (आज) देखि निर्माण कम्पनीले सुरु गरिसकेको छ ।
१० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नती गरिएको छैन । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तारलगायतको कार्य हुने प्रमुख बुढथापाले बताए ।
विमानस्थलको स्तरोन्नती गर्न लुम्बिनी, कोसी एण्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंले १७ करोड ८८ लाखमा ठेक्का पाएको छ ।
६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्गमा थप कालोपत्रे गरिने छ भने दुबैतर्फ २ र २ मिटर धावन मार्ग फराकिलो बनाइने छ ।