प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजा महाराजाको हैसियत दिन खोजेः काँग्रेस

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १७:०० मा प्रकाशित

काठमाण्डु, २१ बैशख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको आरोप लगाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए ।

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दाको संज्ञा दिएको छ । स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको उसको दाबी छ ।

सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ । ‘साधन स्रोत बिनाको एउटा पुलिन्दा, जसले सपना बाँड्न सक्छ तर, यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न सक्दैन’ प्रमुख सचेतक खाँडले भने, ‘नीति र कार्यक्रमको आधारशीला नै कमजोर छ । यसको सोचाई र दृष्टिकोणहरु नै कमजोर छन् । यसको प्रस्तुती करण नै पुराण जस्तो छ ।’ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले पटक–पटक ‘मेरो सरकार’ भनि गरेको उच्चारण विवास्पद बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us