बारा र पर्साको टोर्नेडो प्रभावित क्षेत्रमा आवास निर्माण सुरु

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, २१ बैशाख – बारा र पर्सा जिल्लामा आएको टोर्नेडो प्रभावितका लागि आवास निर्माणको काम सुरु भएको छ ।
शनिबार टोर्नेडो प्रभावित विभिन्न १२ स्थानबाट एक साथ आवास निर्माणको काम सुरु भएको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उप एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री श्री लालबाबु राउत लगायत संघीय सरकारका अन्य ९ मन्त्रीले आवास निर्माण कार्यक्रमको शिलान्यास गरेसँगै निर्माण शुभारम्भ भएको छ । कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुने भनिए पनि कार्यव्यस्तताका कारण देखाउँदै उपस्थित भएनन् ।

जनता आवास कार्यक्रमको क्रममा फेटा गाउँपालिका–६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेल, परवानीपुर–४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रसौनी गाउँपालिका–४ खटुवाजग्दीमा गृहमन्त्री रामबहादुर थापा, वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा ऊर्जामन्त्री वर्षमान पुन, सुवर्ण गाउँपालिका–४ हर्दियामा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, पचरौता नगरपालिका–७ बेनौलीमा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले शुभारम्भ गरेका छन् ।

त्यस्तै फेटा गाउँपालिका–४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, वीरगञ्ज महानगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगर, फेटा गाउँपालिका–४ भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, महागढीमाई नगरपालिका–७ तेलगाईमा भूमी व्यवस्थामन्त्री पद्मा कुमारी अर्यालले, कलैया उपमहानगरपालिका–१३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका–७ रामपुर्वामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आवास निर्माणको शिलान्यास गरेका छन् ।

पर्सामा ९१ घर र बारामा १३६२ घर गरी जम्मा १४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरुलगायत हाल २३३२ जना दक्ष जनशक्ति परिचालित भईरहेको नेपाली सेनाले जनाएको छ । तीन चरणमा सम्पन्न गर्नेगरी गरिने जनता आवासु कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घरहरु जेठ २६ गतेभित्र, दोस्रो चरणमा ४८२ घरहरु असार २८ गतेभित्र र तेस्रो चरणमा ४८९ घरहरु साउन ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us