
काठमाण्डु, २१ बैशाख – बंगालको खाडीबाट आएको चक्रवात ‘फानी’ को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।
शनिबार पूर्वीसँगै मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।
त्यसपछि भने क्रमशः सुधार हुन सक्ने बताइएको छ । यसवर्ष विगत भन्दा अलि धेरै नै वर्षा भइरहेको छ । यसले वर्षा हुनु पर्ने मध्य महिनाहरु असार, साउनमा वर्षा नहुने पो हो कि भन्ने आशंका बढेको छ ।