बाजुरामा भाइरल ज्वरोको प्रकोप फैलियो

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते ११:४७ मा प्रकाशित

बाजुरा, २१ बैशाख – बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् ।

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए । रुगिन स्वास्थ्यचौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर ९३ बढीको उपचार गरेको प्रमुख सिंहले जानकारी दिए । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म एक जना स्वास्थ्य सहायक र एकजना अनमी गाउँमै रहने बताइएको छ ।

जिल्लामा रुघाखोकी, झाडापखाला र भाइरल ज्वरो नै महामारीका रुपमा फैलिने गरेको छ। महामारी नियन्त्रण गर्न ५०० देखि एक हजार बिरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माण गरिने भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us