
काठमाण्डु, २० वैशाख – सरकारले महिनावारी हुने उमेरका छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरेको हो । महिनावारी भएको समयमा विद्यालय जाने छात्राहरुका लागि उचित व्यवस्था नहुँदा आइपर्ने समस्या हल गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
‘देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइनेछ’, सरकारले नीति तथा कार्यक्रममा भनेको छ ।
सरकारले जनसाङ्ख्यिक बनोट र भौगोलिक अवस्थाको आधारमा नक्साङ्कन गरी विद्यालय तथा शिक्षण संस्थाको समायोजन र एकीकरण गर्ने कार्यक्रम ल्याएको छ । त्यसैगरी २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ ।
‘विद्यार्थीहरूलाई सार्वजनिक तथा निजी संस्था एवं प्रतिष्ठानहरूको कार्यस्थलमा इन्टर्न गराइनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश अभियान सञ्चालन गरी स्नातक युवाहरूलाई फेलोसिपसहित मुलुकभर परिचालन गरिनेछ ।’