पेट्रोलको मूल्य बढेपछि नैनसिंह महरले दिए यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १२:०० मा प्रकाशित

काठमाण्डु, २० वैशाख – नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले सरकार जनताका लागि नभइ माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेका आरोप लगाएका छन् ।

राजधानीमा शुक्रबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सरकार पूरै माफियातन्त्र र कमीशनतन्त्रबाट सञ्चालित भएको आरोप लगाए ।

‘सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ’, उनले भने, ‘यो कुनै हालतमा मान्य छैन । मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन हुनेछ ।’ नेपाल आयल निगमले शुक्रबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नेविसंघका निवर्तमान अध्यक्ष महरले आपत्ति जनाएका हुन् ।

‘निगमको नाफा ७ करोडभन्दा बढी छ यस्तो बेला जनतालाई राहत दिन मूल्य घटाउन छोडेर झन् मूल्य बढाइएको छ’, महरले भने, ‘सरकार आफै व्यापारी भएर कल्याणकारी बन्न सकेन ।’

सरकारप्रति निकै आक्रमक देखिएका नेविसंघका निवर्तमान अध्यक्ष महरले भने, ‘स्वचालित मूल्यका नाममा सरकारले आयल निगमलाई भष्ट्राचारको गोदाम बनाएको छ । बेला स्वाचालित भन्ने अनि घटेको बेला मूल्य नघटाउने । बढेको बेला मात्र मूल्य बढाउने यो कस्तो स्वचालन मूल्य प्राणली हो ?’

तीन महिनासम्म मूल्य घटेको बेला नेपालमा किन नघटाएको ? भनेर उनले प्रश्न गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us