
काठमाण्डु, २० वैशाख– सरकारले बालुवाटारमा व्यक्तिका नाममा भएको ११७ रोपनी सरकारी जग्गा फर्काउने भएको छ ।
पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले ललिता निवासको ११७ रोपनी सरकारकै नाममा बनाउने प्रक्रिया थालेको हो । भूमि व्यवस्था मन्त्रालयमा सचिव गोपीनाथ मैनालीले मन्त्रिपरिषदको निर्देशनअनुसार बालुवाटारको अतिक्रमित जग्गा पूर्ववत अवस्थामा ल्याउने गृहकार्य थालिएको बताए । उनका अनुसार सरकारका नाममा ल्याउन अतिक्रमित जग्गा कुन–कुन कित्ता हो र कस–कसका नाममा छ भन्ने पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
अतिक्रिमित जग्गामध्ये ४ सय ३ कित्ता पहिचान भइसकेको छ । त्रिताल आयोगको प्रतिवेदन आएपछि बसेको मन्त्रिपरिषद बैठकले अतिक्रमित सबै सरकारी जग्गा रोक्का राखी जफत गर्ने प्रक्रिया थाल्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको थियो । कान्तिपुर दैनिकबाट