
काठमाण्डु, २० वैशाख– शक्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी,मेघ जर्गन र चट्याङसहित वर्षा हुने देखिएको छ ।
हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ । यो अहिले बंगालको खाडीबाट करिब २ सय किलोमिटर प्रतिघण्टाको बेगमा भारतको उडिसातिर बढिरहेको छ । भारतका आन्ध्र प्रदेश र तामिलनाडु राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ । उडिसास्थित मौसम केन्द्रका अनुसार उक्त राज्यका कम्तीमा ११ जिल्ला फानीबाट प्रभावित हुनेछन् ।
भारतमा विपद व्यवस्थापन निकायले परिस्थिति विकराल हुने भन्दै पूर्वी भारतको सबै तटवर्ती क्षेत्रका बासिन्दालाई सर्तक हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । महाशाखाका अनुसार उक्त प्रणाली भारतको बिहार हुँदै विराटनगर वा त्यस आसपासबाट शुक्रबार नेपाल भित्रिने छ । कान्तिपुर दैनिकबाट