
काठमाण्डु, १९ वैशाख – घोषणाको अन्तिम तयारीमा रहको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच हुने एकीकरण तत्कालका लागि नहुने पक्कापक्की भएको छ ।
आज नयाँ शक्ति पार्टी कार्यालय बबरमहलमा फोरम नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्तिबीच भएको छलफलपछि तत्कालका लागि एकता टरेको हो ।
अब फोरम नेपालसँग मात्र एकता नभएर राजपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति लगायतबीचमा बीचमा राजनैतिक मोर्चाबन्दी र राजनीतिक गठबन्धन बनाएर एकीकरणका लागि छलफल अगाडि बढाउने सहमति भएको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भटराईले बताए ।
बैठकमा वैकल्पिक शक्ति निर्माण गर्नका लागि राजपा, फोरम, राष्ट्रिय जनमुक्ति पार्टी लगायत आदिवासी जनजाति, थरुहटहरुसँग पनि छलफल अगाडि बढाउने सहमति भएको छ जसको नेतृत्व अध्यक्ष भट्टराईले गर्ने बताइएको छ ।
यी दुई पार्टीले वैशाख २३ गते पार्टी एकता घोषणाको मिति तय गरेका थिए । योभन्दा अगाडि पनि राजपासँग एकता नहुने छाँट देखेका बाबुराम र उपेन्द्रले आफूहरु मात्र भए पनि पार्टी एकता गर्न छलफल अगाडि बढाएका थिए । पार्टी एकताको अन्तिम समयमा राजपा पनि मिसिएपछि पार्टी एकताकाे समय लम्बिने भएकाे हाे ।