रसुवागढी र सान्जेनको सेयर बाँडफाँड, उर्जामन्त्री र सभामुखलाई कति कित्ता ?

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख – जनताको जलविद्युत कार्यक्रमअन्तर्गत खुलाइएको रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर बाँडफाँड गरिएको छ । उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो ।

रसुवागढीको सेयरमा सर्वसाधारण आवेदकले ५० कित्तासम्म सेयर पाएका छन् भने सान्जेनको २० कित्तासम्म दिइएको छ ।

रसुवागढीकोभन्दा सान्जेनको माग गरिएको सेयर संख्या कम भएपछि समानुपातिक रुपमा बाँडफाँड गर्दा सान्जेनको सेयर कित्ता कम परेको हो ।

सान्जेन जलविद्युत

कम्पनीले यसअघि खुलाएको प्राथमिक सेयर बाँडफाँड गरिएको छ । १० कित्ताका लागि आवेदन दिने सबैलाई सो बराबरको सेयर प्रदान गरिएको छ । ५९ हजार ४५५ जनाले १० कित्ताको माग गरेका थिए ।

सोभन्दा बढीका लागि आवेदन दिनेलाई पनि १० कित्ताका दरले सेयर प्रदान गरी बाँकी रहेको सेयर गोलाप्रथाबाट थप १० कित्ताका दरले अर्थात कुल २० कित्ता प्रदान गरिएको छ ।

२ लाख ९ हजार ३२८ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन् । २० वा सोभन्दा बढीको माग गर्नेमध्येबाट २० हजार १४४ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

कुल ३ लाख ५९७ आवेदन परेकोमा ११ हजार ७ सय आवेदन विविध कारणले रद्द भएको थियो । कर्मचारी तथा सामुहिक लगानी कोषहरुलाई छुट्याएर ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

सान्जेनका दुई आयोजना रसुवा जिल्लाको आमाछोदीङ्गमो गाँउपालिकामा निर्माणाधीन अवस्थामा छन् । कम्पनीले माथिल्लो सान्जेनबाट १४.८ मेगावाट क्षमतामा विद्युत उत्पादन गर्नेछ भने अर्को सान्जेनको क्षमता ४२। ४ मेगावाट छ ।

रसुवागढी जलविद्युत

१० देखि ४० कित्तासम्म सेयर माग गर्नेले मागेजति नै पाएका छन् । ५० कित्ताभन्दा बढी माग गर्ने सबैलाई ४० कित्ता दिएर बाँकी रहेको सेयरबाट पुनः गोलाप्रथा गरी १० कित्ताका दरले प्रदान गरिएको हो ।

५० कित्ताभन्दा बढीका लागि आवेदन दिनेमध्येबाट गोलाप्रथा गर्दा २५ हजार ६९३ आवेदकले थप १० कित्ता अर्थात ५० कित्ताका दरले पाएका छन् । कुल ३ लाख २ हजार ४३ आवेदन परेको थियो । जसमध्ये २ लाख ९१ हजार २७२ आवेदन मात्रै स्वीकृत भएका थिए ।

कर्मचारी तथा सामुहिक लगानी कोषहरुलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता सेयरका लागि सर्वसाधारणका तर्फबाट आवेदन माग गरिएको थियो ।

कम्पनीले बनाउने रसुवागढी आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माणाधिन अवस्थामा छ । भोटेकोसी नदी यसको प्रमुख जलस्रोत हो । १११ मेगावाट क्षमताको आयोजनाको कुल अनुमानित लागत व्याजसहित १६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

उर्जामन्त्री र सभामुखलाई कति कित्ता शेयर ?

सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्र्तगत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता, सान्जेन जलविद्युत आयोजनाको २० कित्ता शेयर परेको छ ।

त्यस्तै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको २०/२० कित्ता शेयर परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us