मोदीविरुद्ध चुनाव उठेका तेज बहादुरको उम्मेद्वारी खारेज

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १७:१० मा प्रकाशित

एजेन्सी । वाराणासीको जिल्ला निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ) का पूर्व जवान तेज बहादुर यादवको वाराणासी लोकसभा सिटबाट नाम खारेज गरेको छ ।

तेजबहादुरले दुई वटा नामांकन पत्र भरेका थिए । गएको २४ अप्रिलमा निर्दलीय उम्मेदवार र २९ अप्रिलमा समाजवादी पार्टी–बहुजन समाज पार्टीको गठबन्धनको उम्मेदवारको रुपमा नामांकन पत्र भरेका थिए ।

तेज बहादुरले निर्वाचन कार्यालयको विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन् । आफ्नो नाम गलत तरिकाबाट रद्द गरिएको भन्दै उनले भने, ‘मलाई भोलि ६ बजेर १५ मिनेटसम्म प्रमाण पेश गर्नको लागि भनिएको थियो । हामीले सबुत पनि दिएका थियौँ, तर पनि मेरो नाम रद्द गरियो । अब हामी सर्वोच्च अदालत जान्छौं ।’

वाराणासी सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टीका वर्तमान संसाद हुन् र यसपटक पनि उनी यहीँबाट नै चुनाव लड्दैछन् । मोदीले गएको २६ अप्रिलमा यहाँबाट आफ्नो नामांकन भरेका थिए । यो सिटमा कांग्रेसका अजय राय र समाजवादी पार्टीकी शालिनी यादवले पनि आफ्नो नाम दर्ता गराएका छन् ।

तर ३० अप्रिलमा तेजबहादुर यादवलाई जिल्ला निर्वाचन अधिकारीले बीएसएफमा हुँदा किन बर्खास्त गरिएको हो स्पष्ट खुलाउन पहिलो सन्देश पठाएको थियो । सन्देशमा उनलाई जिल्ला निर्वाचन अधिकारीसमक्ष १ मे २१०९ अर्थात् ९० वर्षपछि उपस्थित हुन बताएका थिए ।

तर दोस्रो सन्देश जारी गरियो र पहिलो सन्देशमा बताइएको मिति गलत भएको भन्दै तेज बहादुरलाई १ मे २०१९ बिहान ११ बजेसम्म सीमा सुरक्षा बलबाट चिठ्ठी ल्याउन भनिएको थियो ।

चुनाव आयोगका एक कर्मचारीका अनुसार, जन प्रतिनिधित्व अधिनियममा कुनै पनि राज्य सरकारका कर्मचारी सेवा अवधिमा बर्खास्त हुँदा पाँच वर्षसम्म चुनाव लड्न मिल्दैन ।

वाराणासी लोकसभा सिटमा कुल एक सय एक नामांकन दर्ता भएको थियो, जसमा ७१ वटा नामांकन खारेज गरिएको छ ।

तेजबहादुरले बीएसफमा जवानलाई दिइने खानाको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै भिडिया बनाएका थिए । सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us