
काठमाण्डु, १८ वैशाख – प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको विषयमा गहिरो छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद्मा नै बालुवाटार प्रकरणप्रति कडा अभिव्यक्ति दिएको भन्दै दोषीलाई दण्डित गर्नुपर्ने विषयमा पार्टी प्रस्ट भएको जनाएका छन् ।
‘वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानबिन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रस्ट रहेको धारणा दोहोर्याउन चाहन्छ ।’
बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने दोषीलाई नजोगाउन कांग्रेसले अपिल गरेको छ । ‘बालुवाटारको जग्गाको व्यक्तिका नाममा कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य–प्रमाणका साथ सार्वजनिक भइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरूप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।’
यद्यपी बालुवाटार जग्गा प्रकरणमा स्वंय शेरबहादुर देउवा नै मुछिएको खुलेको छ । उनी गृहमन्त्री हुँदा नै उक्त सरकारी जग्गा व्यक्तिको नाममा गएको थियो ।