
काठमाण्डु, १८ वैशाख – चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आजै स्वदेश फर्किने भएकी छिन् । बिहीबार फर्कने तालिका भएपनि स्वाथ्यमा समस्या आएपछि उनी भ्रमण तालिका छोट्याएर एकदिन अघि नै स्वदेश फर्कन लागेकी हुन् ।
उनी अहिले ल्हासामा छिन् । ९ दिने भ्रमणका लागि चीनमा रहेकी राष्ट्रपतिलाई हाइ अल्टिच्यूडले समस्या पारेको हो । अरु स्वास्थ्य समस्या भने नभएको उनका सल्लाहकार सुशील प्याकुरेलले बताए ।
राष्ट्रपति भण्डारी सछ्वान एयरलाइन्सबाट चिनियाँ समय १०ः५५ बजे नेपाल उड्ने भ्रमण टोलीमा रहेका राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले जानकारी दिए । उनी नेपाली समयअनुसार अहिले बिहान १०ः०५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने तालिका छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसहितको टोली मंगलबार अपरान्ह ल्हासा पुगेको थियो । विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वू यिङचेसँग वार्तासहित रात्रीभोजमा उनी सरिक भएकी थिइन् ।
आज तिब्बत घुम्ने कार्यक्रम थियो । राष्ट्रपतिसँग गएका टोलीका बाँकी सदस्य भने बिहीबार मात्र फर्किने कार्यक्रम छ ।