बालुवाटार जग्गा प्रकरण: देउवालाई कारबाही गर्न कांग्रेस नेताकै माग

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १०:४५ मा प्रकाशित

संखुवासभा, १७ वैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो ।

त्यसको जवाफमा सिंहले भने, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजाय दिनुपर्छ ।’

०४७ सालमा देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा गएको थियो ।

वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ ।

निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी शेरबहादुर देउवाले पाए । कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यादेशअनुसार गृह मन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us