बालुवाटार जग्गा प्रकरणः नेकपामा बदनामीको चिन्ता

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते ६:३६ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख– प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपा सचिवालय सदस्यहरुले सरकारले ल्याउन लागेको बजेटसँगै ललितानिवासको जग्गा प्रकरणबारे पनि आ–आफ्ना धारणा राखेका थिए । बैठकमा सहभागी सदस्यहरुले महासचिव नै सो प्रकरणमा मुछिएपछि पार्टीकै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
सुरुमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललितानिवासको जग्गा फिर्ता गर्ने सरकारको कदम स्वागतयोग्य भएको उल्लेख गर्दै त्यसमा कसकसबाट त्रुटि भएको हो त्यसलाई मिहीन ढंगले केलाउनु पर्नेमा जोड दिए । यस्तै नेताहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रक्षामन्त्री तथा नेकपा स्थायी समिति सदस्य ईश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा पार्टी महासचिवकै नाम जोडिएको र त्यसले पार्टीकै बदनाम गर्न खोजेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us